कथा भन्ने कविताहरू











गणितले भन्छ, बिन्दुको कुनै मान हुँदैन । लम्बाइ, चौडाइ, मोटाइ, उचाइ र गहिराइ केही नभएको सबैभन्दा सानो ज्यामितीय यो आकृतिलाई जीवन र जगतको समानान्तर हैसियतमा व्याख्या गर्दा यसको नापमा विराटताको अनुभव उल्लेख गर्न सकिन्छ ।

यो केही हो, नहुनु होइन । बिन्दुको मापन असम्भव छ, मात्र यसको एक स्थान छ । तर सत्य हो कि हरेक बिन्दुको पनि फैलावट छ । बिन्दु जस्तै वृत्तले निर्माण गरेको विराटताको पनि मापन सम्भव छैन । बिन्दुको खण्डीकरणमा प्राप्त अणु परमाणु हुँदै गहन शून्यताको मार्ग भेट्न सकिएला र वृत्तको अधिकतम् आवृतिले ब्रह्माण्डमाथि पनि अर्को भयानक ब्रह्माण्ड होला ।

बिन्दु र वृत्त प्रक्रिया हुन् ।

गणित र खगोलशास्त्रका मान्यता र स्वैरकल्पनाका उपज मात्र हैनन् यी शब्दले बोकेका मान्यताहरू मानव जगत्का सुखद दुखद सौन्दर्यका अंशहरू हुन् । त्यही सौन्दर्यको संग्रह हो पादुकाको यो कृति बिन्दुको वृत्त ।

यसको न्वारन र यो शीर्षक कविताको निर्माणबारे लेख्दा एउटा घटनाको कथा माग गर्छ यसले । त्यसको लागि पुग्नुपर्छ डोल्पा । विडम्बना कथा सत्य हो, एक कार्यालयमा कार्यरत यौनमा उदार एक महिला गर्भवती भएपछि गाउँगोरेटाहरू प्रकम्पित भए, डोल्पाको आकाशमा सन्नाटा छायो । किनकि जजस्को हात थियो उनीहरूले भूकम्प भोगिरहेका थिए । गर्भवती महिलाले एकपछि अर्को गर्दै दुई दर्जन व्यक्तिको नाम लिएपछि कथाले भीर खोज्दै जटिल मोडमा पुग्यो । निरन्तरका वैठक, छलफल र वार्ताले यो घटना प्रत्येक ढुङ्गाहरूलाई थाहा भयो । अन्ततः अणुवांशिक परीक्षण भयो, त्यसले कार्यालयको पियन तर्फ संकेत गर्यो । जो अस्वाभाविक त थिएन तर कल्पना समेत गरिएको थिएन ।

नवीन अभिलाषी

शुक्रकिटको एउटा बिन्दु, बुँद वा एउटा थोप्लोका कारण समाजशास्त्रीय मान्यताको वृत्त कसरी तरङ्गित बन्छन् ? सत्ता र संरचनागत समाजका आधारहरू कसरी हल्लिन्छन् ? त्यसका आयामहरूबारे शीर्ष कविताले भन्छ ।

एउटा कविताले मागेको कथा भित्र नारी अस्तित्वको पुर्नव्याख्या कति सम्भव हुन्छ ? त्यस्ता अनाम बिउको सजीव चित्रहरू आँखा अगाडि हुर्काइरहेका आमाहरूको कति कथा लेख्न बाँकी छन ? र लेखनको तरिका के हो ? यो कुरा एउटा आमा र समाजको सानो अंश मात्र हैन, यसले सिंगो समाज निर्माण कसरी भएको छ र चलिरहेको छ भन्ने देखाउछ ।

यो शीर्ष कविताको कथा र त्यसको वृत्तमा अटाएका सन्दर्भहरू हुन् । कविता निर्माणको बिउ पूँजी भनेको सोच हो । कविको सोच उन्नत हुन्छ भनेर विस्वास गर्नुपर्छ । सोचको आधारभूमि समाज र सामाजिक मान्यताहरू हुन् । समाजबाटै उठेर समाजलाई सही मार्गमा डोर्याउन साहित्यले एउटा हिम्मत गर्छ । त्यो हिम्मत पादुकाको कवितामा छन् ।

सत्र वर्षदेखि डोल्पामा अक्षर अनुशासन बाँडिरहेका मूलतः शिक्षक विष्णु पादुकाले निर्माण गरेका कविताहरू दर्शनको फ्रेर्ममा कुँदिएका छन् । गहिराइमा पुगेर निर्माण गरिएका दृष्टिकोण कविताको मेरुदण्ड हुन् । दार्शनिक कविताको शक्तिबारे एउटा सुख शीर्षकको दृष्टान्त प्रस्तुत गर्दछु ।

घाम अस्ताउनु अघि

फूलले छायालाई सोध्यो,

कतिन्जेल साथ दिन्छौ मेरो ?

फूलमा बस्योतत्काल एउटा पुतली आयो

पलभरमा घाम डुब्यो

त्यसपछि न पुलती थियो न त छाया ।

विष्णु पादुका (बिन्दुको वृत्त) पृष्ठ ४७ ।

उनका कवितामा कोही कसैसँग न गुनासो, न दुःख, न आवेश, न आक्रोश छ । उनले समाज विकासका लागि न कुनै मुद्धाहरू उठाएका छन्, न समाज र व्यवस्थालाई गलत नै हो भनेर चर्को स्वरमा लल्कारेका छन् । दार्शनिक चेत भएको मानिसले समाजउपर संरचनालाई मात्र प्रश्न गर्दैन, कारण भनेर दोष थोपर्दैन । सन्दर्भको गहिराइमा पुगेर जराहरू केलाउछ ।

तर सङ्ग्रह समाजभन्दा, जीवनभन्दा पर छैन । आफ्नै अनुहार देखिरहे जस्तो लाग्छ सङ्ग्रहको ऐनामा । कवि आफैँ पनि समाजका सुत्रधार हुन् शिक्षक हुन् । त्यसको छनक कवितामा देखिन्छ । परिचयपत्रमा आफ्नो सम्पूर्ण परिचय भन्छन् कविले र मेरो र्इश्वर कवितामा व्यक्तिगत स्वभावबारे बताउँछन् । तर यी कविता कविका मात्रै लाग्दैनन् । कुनै न कुनै हरफमा पाठकले कतै न कतै आफूलाई पाउँछ ।

उनले आमाबारे लेखेका छन्, ढुङ्गाबारे भनेका छन् । आमालाई धर्ती नभनिकन, ढुङ्गालाई कठोर नभनिकन कविता लेखेका छन् । बुद्धलाई बुद्ध नभनिकन बुद्धकोबारे भन्न सक्नु, रगतलाई रगत नभनिकन रगतबारे भन्न सक्नु कविको सर्वोच्च शिल्पी चेतना हो । सिउँडीमा फूल फूलाएर मौनताबारे बोल्ने कविले आँसु दान गरेर आँसु महोत्सव मनाऔँ भनेका छन् । कविताहरू माथिको दृष्टिकोण र व्याख्या आफैँले कवितामै लेखेका छन् ।

कविता सौन्दर्यको आयाम हो । यो आफैँमा पृथक हुन्छ । शिल्पबिनाको शब्द संयोजन कविताको अप्ठ्यारो बाटो हो । जो निक्कै उदेक लाग्दो र दिक्दार लाग्दो हुन्छ । तर कवि पादुकाले यसमा निक्कै मेहनत गरेका छन् । कवितामा कलाको जादु देख्न सकिन्छ । त्यसमा पनि कविको केही  प्रयोगात्मक शैलीले सङ्ग्रहलाई पृथक बनाएको छ । स्मार्ट प्रेम जस्ता कवितामा अङ्ग्रेजी शब्दको भरमग्दुर प्रयोगले नयाँपन दिएको छ ।

कविता कविको निजत्व चेतनाको स्तरबाट निर्माण हुने कला हो । कविताले उठान गरेका वैचारिक मान्यता र त्यसको धरातल सबै स्तरका पाठकको लागि समानान्तर नलाग्न सक्छ । कतिलाई दुर्वोध्य लाग्न सक्ला भने कतिलाई फिक्का र सरल । कविले कला, शिल्प, सौन्दर्यमा बढी ध्यान दिएका कारण धेरैलाई धेरै कविताहरू असहज लाग्न सक्छन् ।

लेखक सागर गैरेले संक्षिप्त शुभेच्छामा लेखेका छन् ‘जीवनको उत्पत्ति एउटा बिन्दुदेखि शुरु भएर वृत्त फैलाउँदै जानु र वृत्तको अन्त्य बिन्दुमा गएर विलीन हुने दर्शन बुझिन्छ बिन्दुको वृत्तभित्र ।’ ठ्याक्कै सङ्ग्रहले बोक्न खोजेको आयाम यही नै हो । संसारका हरेक विषयवस्तुहरू बिन्दु र वृत्तबीचको एक नियमित प्रक्रियामा सहभागी हुन् । हरेक मानिस कहिले बिन्दुको सिमितताभित्र कुजिएर बाँच्न अभिसप्त हुन्छ भने कहिले फैलिएर वृत्त निर्माण गर्छ । यस्तै मानिसका दुख, समाजको चेतना र समग्र जगतको अस्तित्व पनि बिन्दुको वृत्त नै हो ।

प्रकाशित ९ चैत्र २०७८ साहित्यपोस्ट डट कम

Comments

Popular posts from this blog