एउटा जिउँदो प्रेमपत्र


लेख्नै परेपछि

किन नलेखुँ तिम्रो साश्वत नाम

र गुमनाम ठेगानामा – घाईते शब्दहरु ।


सुन्दरताको ऐश्वर्य लिएर

मेरो छातिको फाँट भत्काएर तिमी बगिरहदा पनि

जिर्ण किनाराको बैशाखी बनेर दिएकै हँु सहारा ।

बादलका सपना बोकेर

उडिरहँदा पनि – उन्मुक्त आकाशमा तिमी

बाटो देखाएकै हुँ – अजंग पहाड बनेर ।

आफैलाई काँडा बनाएर पनि

थपिदिएकै हुँ कोमलताको उपमा तिमीलाई ।


म उहि र उस्तै

चुपचाप, मौन र निरिह छु – चोकको सालिक झै ।

झारेर रहरका रँगिन फूलहरु

धेरै प्रतिक्षाका बसन्तहरु यसै गुमाएको छु मैले ।


आज लेख्नै परेपछि

किन छुटाउनु – तिमीले गुलाबको ओत लागेर

विश्वासमा कर्द हानेर भागेको कुरा ।

दिएर सम्बन्धको प्रेमिलो बेलुन

आफैले फुटाई दिएर हाँसेको कुरा ।


अचेल

जिन्दगीको गमलामा टुसाएको

ममता भाँचेर तिमीले रोपेकी छौ रे– ऐँजेरु ।

हरदम मुस्कुराउने ओठ जस्तो

बेगम्बेली मासेर बनाएकी छौ रे – फलामको गेट ।

र पालेकी छौ रे – जापानी कुकुर ।


तिमीसम्म नपुग्ला यो मुटुको प्रतिलिपी ।

मेरो सानो दर्दको झरीले

तिम्रो विशाल पृथ्वी नभिज्न सक्छ ।


तर लेख्नै परेपछि

किन छुटाउनु – म जिउँदो रहेको सत्य

र तिम्रो मृतक छुन्मुनाहट नियालिरहेको कुरा । 

@Nabin Abhilashi

http://www.khasskhass.com/new/main.php?action=view_detail&id=1461

Comments

Popular posts from this blog

कथा भन्ने कविताहरू