शहर पसेको छोरो 








यसपाली पनि
छोरो भन्दा पहिल्यै आइपुग्यो दशै !

रंग खोज्दै हिँडेको छोरो
कुन इन्द्रेणी देख्यो होला शहरको
यता आफ्नै सिउँदोमा पनि छैन रंग
यसरी
आँसुमा मुछेर अक्षता अब कसलाई लगाइदिनु ?

केराको पात जस्तो भयो शरिर
दशमीको जमरा जस्तै पँहेला भए हातखुट्टाहरु
बन्द घरको अध्यारो कुनाबाट
पुजेर निकालिएको जमराको मुठो जस्तो
कुन दिन निकालिने हो यो पार्थिव शरिर
तर यसपाली पनि
छोरो भन्दा पहिल्यै आइपुग्यो दशै !

पिढी त टालेँ हजार पटक
तर पीडाले भत्केको मन टाल्न धेरै धेरै नै गाह्रो रैछ ।

घरको छानो हाल्ने छनक देखाएर
छोरो हिँडेको छायाँ मात्र छ आँखामा
यीनै आँखाबाट चुहिएको छ हजार पटक आँसु
हजार पटक रोएको छ छानो
थाहा छैन कुन दिन
छानोसंगै खस्छ प्राणको चंगा च्वाट्ट चुँडिएर ।

चुराको लयमा बुहारीले छ्यापेर कमेरो
कम्मर छेक्ने धोतीको सप्को जस्तो
प्रत्येक वर्ष रातो माटोले घर छेकेको हेर्ने रहर थियो ।
आँगनमा आफै उम्रिएका फूलहरुसंग
उस्का सन्तानहरु हुर्किएको हेर्ने रहर थियो ।
तर यसपाली पनि
छोरो भन्दा पहिल्यै आइपुग्यो दशै ।

पुज्नु पर्ने कर्द, कोदालो र फरुवा
भाकेर कुल देवता
कहिलेसम्म पालेर बस्नु रातो भाले
र कहिलेसम्म पालेर बस्नु मर्न थालेको आशा ?

मुल बाटैबाटो टाढाबाट
कोही आइरहेको धमिलो छायाँमा मेरै छोरो आउछ
छिमेकीमा पाकेको मासुको हररर बासनाले
सम्झनामा छोरो आउछ
आकाशमा
कुनै एउटा चंगा अलपत्र परेको देख्दा पनि
छोरोको सम्झना आउछ ।

मालश्रीको लय भएर
धानका बाला बालामा हाँसेर
उस्को सम्झना मात्र आउछ ।
तर यसपाली पनि
छोरो भन्दा पहिल्यै आइपुग्यो दशै ।

यदि छोरो भन्दा पहिल्यै म मरी गएँ भने
त्यो एक्लो छोरोको यति धेरै सम्झनाहरु
कस्ले राखिदेला संगालेर ?

@Nabin Abhilashi

https://shikshapatra.com/2020/10/23/89887

Comments

Popular posts from this blog

नरेन्द्रजंग पिटरको कालो डायरी र कफीको कम्युनिष्ट स्वाद

कथा भन्ने कविताहरू